काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएकोमा साना तथा मझौला व्यवसायी महासंघले बुधबार महासंघ सचिवालयमा एक कार्यक्रमबीच बधाईसहित सम्मानपत्र प्रदान गरेको छ । 

साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा त्यस महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बधाई पत्र प्रदान गरेका थिए । 

उनले निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघ संग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

सो क्रममा अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधारसहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।