काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछ। क्यासब्याक अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा असोज ९ गतेदेखि २२ गतेसम्म उपलब्ध हुनेछ।

डायनामिक क्यूआरका रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन्। भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो। 

चाडपर्वको समयमा देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ।

हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ। 

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।