काठमाण्डौ । मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । 

त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड(डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो । 

एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेअनुसार भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी हो, तर कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचार उल्लेख गरिएको छ । 

भारतमा अप्रीलदेखि जूनसम्मको अवधिमा १९.८ करोड अमेरिकी डलर बराबरको प्याज निर्यात भएको देखिएको छ, जबकि गत वर्षको पूरा साल ४४ करोड अमेरिकी डलर मूल्य बराबरको प्याज मात्र निर्यात भएको थियो । भारतदेखि बंगलादेश, मलेशिया, यूएई र श्रीलंकामा बढी परिमाणमा प्याज निर्यात गर्ने गरेको छ । नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ । 

केही समयको अन्तरालमै प्याजको मूल्यमा भारतमा निकै ठूलो बढोत्तरी आएको समाचारमा उल्लेख गरिएको छ । केही समयअघि मात्र १५ देखि २० भारुसम्म प्याजको बिक्री भइरहेकोमा बढेर अहिले ४५ देखि ५० भारु प्रतिकेजीसम्म पुगेको छ । भारतीय बजारमा केही सडेगलेको प्याज समेत प्रतिकेजी २५ भारुमा बिक्री भइरहेको समाचारमा उल्लेख गरिएको छ । 

एशियाको सबैभन्दा ठूलो सब्जीमण्डी दिल्लीको आजादपुर मण्डीमा सोमबार प्याजको होलसेल रेट २६ देखि ३७ भारुसम्म रहेको छ । 

कारोबारीहरुका अनुसार प्याजको मूल्यमा आइरहेको तीव्र उछाल पछाडिको एक मुख्य कारण भारतमा प्याजको खेतीमा यसपटक परेको प्रभाव र उत्पादनमा आएको कमी हो । खासमा कर्नाटकमा पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण प्याज खेतीमा निकै ठूलो असर परेको थियो । 

गत वर्ष पनि सेप्टेम्बरमा नै भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । गत वर्ष भारतले प्रतिटन प्याजमा ८५० डलरको न्यूनतम निर्यात मूल्य(एमइपी) लगाएको थियो । त्यसबेला माग र आपूर्तिबीचको निकै ठूलो अन्तरका कारण प्याजको मूल्यमा निकै ठूलो उछाल आएको थियो ।

महाराष्ट्रसहित भारतका प्रमुख प्याज उत्पादक राज्यमा धेरै ठूलो वर्षा र बाढीका कारण उत्पादनमा कमी आएको थियो । 

नेपाली बजारमा सोमबार प्याजको थोक बिक्री मूल्य प्रतिकेजी ५७ रुपैयाँ रहेको छ । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई पनि धान्न धौ धौ पर्छ । 

यसरी भारतले निर्यात प्रतिबन्ध लगाउँदा नेपालमा चाडपर्वको मुखमा प्याजको हाहाकार मच्चिने देखिएको छ । चीनसँगको भन्सार नाका समेत एकतर्फी बन्द भएकोले सस्तो चिनियाँ प्याज समेत तत्काल उपलब्ध हुने संभावना न्यून देखिएको छ । यसले बजारमा अझ बढी प्यानिक अवस्था सिर्जना गर्नसक्छ । चीनले प्याज निर्यातमा नेपाललाई सहयोग गर्ने तत्परता देखाए पनि त्यसका लागि एक महिना समय लाग्छ । एलसी खोलेर चीनबाट प्याज आयात गर्न सामान्य समयमा पनि कम्तीमा एक महिना लाग्ने गथ्र्यो । चीनको प्याजमा अत्यधिक परिमाणमा पानीको मात्रा हुने र हेर्दा कालोजस्तो देखिने हुनाले नेपाली उपभोक्ताले चीनको प्याज त्यति रुचाउँदैनन् ।