अर्घाखाँची । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चारजनामा कोरोना संक्रमण देखिएको छ। 

संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुईजना  तथा गुल्मीका दुईमध्ये एकजना भारतबाट फर्किएका युवा हुन्। संक्रमित अर्का भने स्थानीयवासी युवक हुन्।

अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन्। जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो। भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो। 

संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ। अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो। उनीहरुसंगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। 

जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन्। रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन्।

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका  ११६, मालारानी गाउँपालिकाका ३२१  र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो। बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ।

संक्रमण पुष्टि भएका गुल्मी धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् । उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो। उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ। अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो। 

संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन। धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी  छ। पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ। संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो। यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ।