काठमाण्डौ । भारतबाट आउने हवाई यात्रुलाई राख्ने गरी सरकारले ८ वटा होटेल तथा रिसोर्टलाई क्वारेन्टिन तोकेको छ।

भोलि बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिने भए पनि भारतबाट सातामा दुई उडान हुने भनिएको छ। ती उडानबाट नेपाल आउने यात्रुलाई राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वटा होटेल तथा रिसोर्टलाई क्वारेन्टिन तोकेको हो। मन्त्रालयका अनुसार गौशालास्थित अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम, एयरर्पोटस्थित एयरर्पोट होटेल, गुहेश्वरीस्थित माधव होटेल, गोदाबरीस्थित भ्यु भृकुटी, जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटेल क्वारेन्टिन तोकिएको छ। 

मन्त्रालयका अनुसार यी होटेल तथा रिसोर्टले भारतबाट आउने यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिनेछन् । मूल्यअभिवृद्धि कर र सेवा शुल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी क्वारेन्टिन तोकिएको छ । भारतबाट आउने यात्रु १९ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी दिइएको छ।