नयाँदिल्ली । कोरोनाले हायलकायल बनाएको भारतमा दैनिकजसो संक्रमणदर घटेका खबरहरु सार्वजनिक भइरहेका छन् । आइतबार समेत यस्तै सुखद खबर सार्वजनिक भएको छ । 

आइतबार कोरोना संक्रमितको संख्या घटेर ३ लाख ११ हजारमा सीमित बन्न पुगेको छ । संक्रमणदर पनि घटेर १६.९८ प्रतिशतमा सीमित बन्न पुगेको भारतीय न्यूज एजेन्सीहरुले जनाएका छन् । 

मे ३ को दिन भारतमा संक्रमणदर २४ प्रतिशत थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार देशमा उपचाररत बिरामीको संख्या(एक्टिभ केस) संक्रमणको कुल संख्याको १४.६६ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार ७४.६९ प्रतिशत उपचाररत कोरोना संक्रमित १० राज्यबाट प्रतिनिधित्व गर्छन् । ती राज्यहरुमा कर्नाटक, महाराष्ट्र, केरला, राजस्थान, तमिलनाडू, आन्ध्रप्रदेश, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात र छत्तीसगढ रहेका छन् । 

गत २४ घण्टामा भारतमा ३ लाख ६२ हजार ३४७ संक्रमित निको भएका छन् । यो अवधिमा सबैभन्दा धेरै संक्रमित कर्नाटकमा ४१ हजार ६६४ रहेको छ । महाराष्टमा ३४ हजार ८४८ र तमिलनाडूमा ३३ हजार ६५८ संक्रमित थपिएका छन् । 

कोभिड १९ का कारण भारतको राष्ट्रिय स्तरको मृत्युदर १.०९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७७ संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ९६० र कर्नाटकका ३४९ रहेका छन् । 

भारतमा तीव्र बनाइएको खोप अभियान अन्तर्गत आइतबारसम्म १८ करोड २२ लाख डोज खोप दिइसकिएको छ । आइतबार भारतमा खोप अभियान सुरु भएपछिको १२० औं दिन हो ।