काठमाण्डौ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको भोलिपल्टै मंगलबार नेपालमा सुकेका प्याजको मूल्य २५ प्रतिशतले बढेको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार आज भारतीय सुकेको प्याजको मूल्य किलोमै १५ रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै भारतीय सुकेको प्याजको मूल्य आज प्रतिकिलो औसत ७५ रुपेयाँ कायम भएको छ। 

हिजो सोमबारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो औसत ६० रुपैयाँ रहेको थियो। यसरी थोक मूल्यमै २५ प्रतिशत बढेपछि खुद्रा मूल्य झनै बढेको स्पष्ट हुन्छ। त्यसो त काठमाण्डौका बजार र पसलैपिच्छे सुकेका प्याजको मूल्य फरकफरक हुने गरेको छ। 

मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले सोमबारमात्र प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड९डिजीएफटी०ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो। 

एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेअनुसार भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी हो, तर कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचार उल्लेख गरिएको छ। 

भारतमा अप्रीलदेखि जूनसम्मको अवधिमा १९.८ करोड अमेरिकी डलरबराबरको प्याज निर्यात भएको देखिएको छ। जब कि गत वर्षको पूरा साल ४४ करोड अमेरिकी डलर मूल्यबराबरको प्याजमात्र निर्यात भएको थियो। 

भारतदेखि बंगलादेश, मलेशिया, यूएई र श्रीलंकामा बढी परिमाणमा प्याज निर्यात गर्ने गरेको छ। नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ। 

केही समयको अन्तरालमै प्याजको मूल्यमा भारतमा निकै ठूलो बढोत्तरी आएको समाचारमा उल्लेख गरिएको छ। केही समयअघि मात्र १५ देखि २० भारुसम्म प्याजको बिक्री भइरहेकोमा बढेर अहिले ४५ देखि ५० भारु प्रतिकेजीसम्म पुगेको छ। भारतीय बजारमा केही सडेगलेको प्याज समेत प्रतिकेजी २५ भारुमा बिक्री भइरहेको समाचारमा उल्लेख गरिएको छ। 

एशियाको सबैभन्दा ठूलो सब्जीमण्डी दिल्लीको आजादपुर मण्डीमा सोमबार प्याजको होलसेल रेट २६ देखि ३७ भारुसम्म रहेको छ। कारोबारीहरुका अनुसार प्याजको मूल्यमा आइरहेको तीव्र उछाल पछाडिको एक मुख्य कारण भारतमा प्याजको खेतीमा यसपटक परेको प्रभाव र उत्पादनमा आएको कमी हो। खासमा कर्नाटकमा पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण प्याज खेतीमा निकै ठूलो असर परेको थियो। 

गत वर्ष पनि सेप्टेम्बरमा नै भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष भारतले प्रतिटन प्याजमा ८५० डलरको न्यूनतम निर्यात मूल्य (एमइपी) लगाएको थियो। त्यसबेला माग र आपूर्तिबीचको निकै ठूलो अन्तरका कारण प्याजको मूल्यमा निकै ठूलो उछाल आएको थियो।

नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई पनि धान्न धौ पर्छ। यसरी भारतले निर्यात प्रतिबन्ध लगाउँदा नेपालमा चाडपर्वको मुखमा प्याजको हाहाकार मच्चिने देखिएको छ।