काठमाण्डौ । नेपाल उद्योग परिसंघ आयोजना र नेपाल सरकार तथा नेपाल युवा निर्माण व्यवसायी मञ्चको सहआयोजनमा फागुन ८ र ९ गते काठमाण्डौमा हुने नेपाल पूर्वाधार शिखर सम्मेलन २०१७ मा सहभागी हुन भारतीय रेल्वे मन्त्री सुरेश प्रभाकर प्रभु शनिवार काठमाण्डौ आइपुुगेका छन् । 

मन्त्री प्रभुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत रणजित रे सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए । 

निजी क्षेत्रको अगुवाईमा आयोजित पूर्वाधार शिखर सम्मेलनको विशिष्ट अतिथि एवं उद्घाटन सत्रको मुख्यवक्ताका रुपमा आमन्त्रित भारतीय मन्त्री प्रभुको नेपाल भ्रमण र उक्त सम्मेलनमा व्यक्त हुने विचार पूर्वाधार विकासको क्षेत्रमा निजी लगानीको उल्लेख्य उपयोगमार्फत लगातार उच्च आर्थिक वृद्धि हासिल गरेको भारतको विकास अनुभव नेपालका लागि समेत अनुकरणीय हुने परिसंघको दाबी छ । 

उनले मेलाको बिषयमा बोल्दै नेपालको पूर्वाधार विकासमा गर्न भारतीय अनुभव उपयोगी हुने धारणा राखे । भौतिक पूर्वाधारको अभावमा आर्थिक समृद्धि सम्भव नहुने विभिन्न देशको अनुभवले पुष्टी गरिसकेको सन्दर्भमा परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलन नेपालको पूर्वाधार विकासमा कोशेढुङ्गा साबित हुने विस्वास समेत व्यक्त गरे । 

काठमाण्डौ भ्रमणका क्रममा भारतीय मन्त्री प्रभुले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै तीन दिनको नेपाल भ्रमणका क्रममा प्रभुले भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकका साथै नेपाली निजी क्षेत्रका प्रतिनिधि र उद्योगी व्यवसायीहरु सँग नेपाल–भारत रेल्वे तथा सडक सञ्जाल विकास र विस्तारका विषयमा विभिन्न चरणमा अन्तरक्रिया तथा छलफलमा सहभागी हुने कार्यक्रम समेत रहेको बताइएको छ । 

पूर्वाधार सम्मेलनमा भारतीय रेल्वेमन्त्रीको सहभागिता र सम्बोधन दुई देशको सीमा क्षेत्रमा पारवहन तथा व्यापार पूर्वाधार विकासलाई गति दिन फलदायी हुने परिसंघको विश्वास छ ।