काठमाण्डौ । कोरोनाभाइरसको प्रभावले अहिले विश्वका सेयरबजारहरु नराम्ररी प्रभावित भइरहेका छन्।

यो साता कारोबारको पहिलो दिन सोमबार छिमेकी मुलुक भारतको सेयर बजारमा खुलेको केही मिनेटमै पहिरो गएको छ। भारतीय सेयर बजार खुल्ना साथ सेन्सेक्समा १३ सय अंकभन्दा बढीको गिरावट आयो। यो समाचार तयार पार्दासम्म सेन्सेक्समा १९ सय अंकको गिरावट आइसकेको छ। अहिले सेन्सेक्स ३२ हजार २०० को विन्दुमा झरेको छ। 

यसैगरी निफ्टीमा पनि ५२९ अंकको गिरावट आएको छ। अहिले निफ्टी ९ हजार ५०० आसपासको विन्दुमा कारोबार भइरहेको छ। 

भारतमा ठूला मानिएका कम्पनीहरुको सेयरमूल्यमा पहिरो खसेको छ। अडानी पोर्टस, इन्डसइन्ड बैंक, आईसीआईसीआई बैंक, एचडीएफसी, एक्किस बैंक, टाटा स्टिल, टाइटन, बजाज फिनसर्भ र जेएसडब्लू स्टिलका सेयर राताम्य बनेका छन्। अहिले यस बैंक मात्र हरियो संकेतमा कारोबार भइरहेको छ। – एजेन्सी