-कृष्ण पाण्डे
लगानीकर्ताको ठूलो संघर्षपछि धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाए पनि दैनिक कारोबार भोल्यूमको आधारमा ब्रोकर कमिसनको प्रतिशत लागू नभएसम्म यसले लगानीकर्तालाई खासै फाइदा हुने देखिदैन।  

नयाँ ब्रोकर कमिसन को ढांचा यसप्रकार छः

  • रु. ५० हजारसम्मको सेयर कारोबारः  ०.४० प्रतिशत
  • रु. ५० हजारदेखि माथि रु. ५ लाखसम्मको कारोबारः  ०.३७ प्रतिशत
  • रु. ५ लाखदेखि रु. २० लाखसम्मको कारोबारः ०.३४ प्रतिशत
  • रु. २० लाखदेखि माथि १ करोड रुपैयाँसम्मको कारोबारः ०.३० प्रतिशत
  • रु. १ करोडभन्दा माथि जतिसुकै रकमको कारोबारका लागि ०.२७ प्रतिशत

उदाहरणका लागि राम भन्ने सेयर कारोबारीले चिलिमे कम्पनीको १००० कित्ता ६०० दरमा किन्नु भयो, तर किन्दा अलग अलग सेयरधनीबाट  ५०, ६० र ८० का साना साना टुक्रा कित्ता पाउनु भयो। यसरी किन्दा उहाँको कारोबारको रकम ६ लाख देखिए पनि उहाँको कारोबारको भोल्यूम अनुसार ०.३४ प्रतिशत ब्रोकर कमिसन लाग्नुपर्ने हो तर उहाँलाई ब्रोकरले ०.४० प्रतिशत नै कमिसन लगाउँछ। 

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउँदा स्पष्ट रुपमा नै सेयर कारोबारीले जुनसुकै कम्पनीको सेयर जति कित्ताको कारोबार गरे पनि दैनिक कारोबारको भोल्यूमको आधारमा ब्रोकर कमिसन चार्ज गर्ने व्यवस्था नगरेसम्म सेयर कारोबारी तथा लगानीकर्ताहरुलाई खासै फाइदा हुने देखिदैन। 

सेयर लगानीकर्ताहरुको हकहितका लागि सम्बन्धित निकायले यसको बारेमा फेरि पुनरावलोकनको जरुरी देखिएको छ । निश्कर्षमा भन्नुपर्दा ब्रोकर कमिसन घटाउने नाममा लगानीकर्तामाथि छल भएको छ । लगानीकर्ताको हित हुने गरी यसमा पुनरावलोकनका लागि सबै पक्षको दवाब आवश्यक छ । 

(लेखक ८ वर्षसम्म एनएसई, बीएसई, एमसीएक्स, डीएसई, आइसीइएक्स तथा एसीईको ब्रोकर भई काम गरेका व्यक्ति हुन् । उनी टेक्निकल एनालिस्ट, पोर्टफोलियो व्यवस्थापक, क्यापिटल तथा सेक्युरिटी मार्केटका लागि भारत सरकारको लाइसेन्सप्राप्त तथा म्युचुअल फण्डका सल्लाहकार समेत छन् । हाल उनी एमबीएतर्फ पिएचडीका स्कलर हुन् भने नेशनल इन्स्टिच्यूट अफ फाइनान्सियल टेक्नोलोजीका एमडी, एक्सप्लोर होल्डिंग प्रालि र एक्सप्लोर हेल्थकेयर प्रालिका चेयरमेन समेत छन् । )