काठमाण्डौ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ। तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ।

अघिल्लो एक साता मौसम खराबीले उडान प्रभावित भएको थियो, त्यसपछि केही दिन मौसम सफा भए पनि गत २३ गतेदेखि फेरि उडान प्रभावित भएको हो। काठमाण्डौ उपत्यकासहित देशभरको आकाशमा बाक्लो तुवाँलो लागेकाले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए। १२ उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो। यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाइयात्रा गरेका छन्। बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए। २८ उडान रद्द भएका छन्। बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन्। सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन्।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भए। उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ। बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
तीनदिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा बिहीबार काठमाण्डौको आकाश सफा छ। तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए। उनका अनुसार बिहीबार पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ। पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन्।

-RSS