काठमाण्डौ । भूकम्पपछिको अवस्था र त्यसपछिको केही महिनापछि भोग्नुपरेको पिता वियोगनका कारण केही समय अवरुद्ध भएको चर्चित कवि तथा गीतकार बसन्त चौधरीको एकल विश्व काव्ययात्रा पुनः सुरु हुने भएको छ । 

विश्व काव्ययात्राको १७ र १८ औं श्रृंखला अष्ट्रेलियामा आयोजना हुने भएको हो । नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपाली बीच जीवन्त राख्दै विश्वमाझ परिचित गराउने उद्देश्यका साथ विगत लामो समयदेखि चौधरीले विश्व काव्ययात्रा गरिरहेका छन् । 

चौधरीको विश्व काव्ययात्राको आगामी श्रृंखला आगामी असार १० गते, शुक्रबार अष्ट्रेलियाको सिड्नीमा मञ्चन हुने तय भएको छ । त्यहाँ कवि चौधरीले १० जना अष्ट्रेलियन कविहरूसँग अन्तरक्रिया गर्नेछन् । आफ्ना रचनामध्ये अङ्ग्रेजीमा अनुदित केही सिर्जनाहरुमा केन्द्रीत रही अन्तरक्रिया हुने बताइएको छ । 

दोस्रो दिन असार ११ गते शनिबार सिड्नीस्थित साहित्यप्रेमी प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’को आयोजनामा कवि र गीतकार चौधरीको एकल विश्व काब्य यात्राको १७ औं श्रृङ्खला आयोजित हुनेछ । सो कार्यक्रममा स्थानीय नेपाली गायक र गायिकाहरुले चौधरीको चर्चित गीतहरुको प्रस्तुती दिने छन् । 

असार १२ गते आइतबार अष्ट्रेलियाको मेलवर्नस्थित थर्नब्युटी थियटरमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चरको आयोजनामा कवि र गीतकार चौधरीको विश्व काव्ययात्राको १८ औं श्रृङ्खला पस्कने कार्यक्रम छ । दुबै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केही चर्चित पुराना गरी डेढ दर्जन काब्यिक बान्कीहरु प्रस्तुत गर्नेछन् भने मेलवर्नमा रहेकी स्मृति पोखरेलले चौधरीका चर्चित गीत गाउने कार्यक्रम रहेको छ । 

यसैगरी, आगामी साउन २२ गते शनिबार बेल्जियमको ब्रसेल्समा र आगामी सेप्टेम्बर र अक्टोबरमा रुसको मस्को तथा जर्मनीको फ्राङ्कफर्टमा चौधरीको एकल विश्व काव्य यात्राका थप श्रृङ्खलाहरू आयोजना हुने बताइएको छ ।