काठमाण्डौ । सरकारले भूकम्पप्रभावित ३१ जिल्लाका खानेपानी आयोजना मर्मत तथा जीर्णोद्वार कार्य सुरु भएको छ ।

अति प्रभावित १४ तथा आंशिक प्रभावित १७ जिल्लामा प्रभावित क्षेत्र छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार एक हजार ५७० खानेपानी लाइन क्षतिग्रस्त भएको तथा तीन हजार ६६३ मा आंशिक क्षति पुगेको छ । पञ्चवर्षीय योजनाअन्तर्गत ती कार्य सम्पन्न गरिनेछ । 

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले त्यस क्षेत्रका जनतालाई अहिले खानेपानी आपूर्तिको व्यवस्थापनका लागि चालु आवमा करिब रु ८४ करोड विनियोजन गरिएकोमा अहिले अति प्रभावित क्षेत्रका अधिकांश स्थानमा सामान्य मर्मत तथा आंशिक प्रभावित जिल्लामा समेत केही कार्य सुरु भइरहेको जानकारी दिए । 

गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पले क्षतिग्रस्त भएको खानेपानीको संरचना तयार गर्न करिब रु २२ अर्बको लागत लाग्ने अनुमान गरिएको छ । प्रवक्ता सुवेदीले विकास खर्च कम भइरहेको अवस्थामा खानेपानी तथा सरसफाइको क्षेत्रमा विनियोजित खर्च तथा लक्षित कार्यक्रम पूरा भएको दाबी गरे ।