काठमाण्डौ । नेतृत्वमा आएको छोटो समयमै नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहाल विवादमा तानिएका छन् । 

नेतृत्वमा आउनुअघि नेपालको बैंकिङ उद्योगमा एक राम्रो विश्लेषकको छवि बनाएका दाहाल पछिल्लो समय आफ्नै बोलीको गलपासोमा फस्न थालेका हुन् । 

दाहालकै बोलीका कारण पछिल्लो समय नियामक नेपाल राष्ट्रबैंकले बैंकका सीइओ तथा उच्चपदस्थ कर्मचारीहरुको तलब तथा सुविधामा अंकुश लगाउने अवस्था बनेपछि उनीप्रति अन्य बैंकर समेत रुष्ट छन् । 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष भएपछि उनले एकपछि अर्को विवादास्पद अभिव्यक्तिहरु दिइरहेका छन् । कोरोना प्रभावकै बीच संघीय संसदको अर्थसमितिको बैठकमा उनले नेपाल राष्ट्रबैंक र नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको विरोध गर्ने क्रममा केही गलत शब्दहरु प्रयोग गरेका थिए । सो क्रममा उनले बैंकरहरुको तलबको विषयमा समेत मिसलिड गर्ने गरी विवादास्पद अभिव्यक्ति दिएका थिए । 

नेपाल राष्ट्रबैंकको कोरोना प्रभावितलाई ब्याजदरमा २ प्रतिशत छुट दिने नीतिको उनले अर्थसमितिमा कडा विरोध गरेका थिए । नवनियुक्त गभर्नर अधिकारीमाथि समेत सकेसम्म कटाक्ष हानेका थिए । सोही कार्यक्रममा उनले राष्ट्रबैंकका कर्मचारीहरुको तलब थोरै भएकोले भ्रष्टाचारमा संलग्न हुने गरेका समेत आरोप लगाएका थिए । उनका आधारविहीन आरोपहरुले राष्ट्रबैंक रुष्ट बनेको थियो । उनले तलबको विषयमा धेरै नै पेल्न खोजेपछि त्यसकै बदला लिँदै राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकका सीइओ तथा उच्चपदस्थ कर्मचारीहरुको तलब तथा सुविधामा पुनरावलोकन गरिने विषय ल्याएको स्रोत दाबी गर्छ । 

‘यो विषय अहिले यसरी आउने थिएन, भूवन दाहालकै गलत बोली, प्रस्तुती र व्यवहारले यो विषय मौद्रिक नीतिमा समेटिएको हो ।’ एक वाणिज्य बैंकका सीइओले भने–‘नेतृत्व गर्ने मान्छेले सन्तुलित भएर बोल्नुपर्छ । आफू मात्रै जान्ने भन्ने हिसाबले बोल्दा हाम्रै अध्यक्षको बोली हाम्रा लागि गलपासो बन्यो ।’ 

गलत प्रस्तुती र आधारहीन गम्भीर आरोपका कारण पछिल्लो समय नेपाल राष्ट्रबैंकले नेपाल बैंकर्स संघको नेतृत्वमा भूवन दाहाललाई रुचाएको छैन । भूवन दाहाललाई नेतृत्वबाट हटाउनुपर्ने विषय समेत बैंकरहरुबीच छलफलको विषय बन्न थालेको छ । सबै निकायमा सन्तुलन मिलाएर अगाडि बढाउने क्षमता भएको नेतृत्व बैंकर्स संघमा आउनुपर्ने, नभए अवस्था अझै जटिल बन्ने सीइओहरुको विश्लेषण छ । 

आफ्नै अध्यक्षका कारण सीइओ र उच्चपदस्थ कर्मचारीको तलब तथा सेवासुविधामाथि पुनरावलोकनको व्यवस्था मौद्रिक नीतिमा ल्याइएपछि यसले जनमानसमा गलत सन्देश प्रवाह भएको बैंकरहरुको बुझाई छ । ‘भूवन दाहाल जीको बोलीका कारण मौद्रिक नीतिमै हाम्रो तलब र सेवासुविधा घटाउने विषय आएर राम्रो सन्देश गएन ।’ ती बैंकरले भने–‘यसअघिका अध्यक्षले राम्रो बनाएको बैंकर्स संघको छवि भूवन जीले बिगार्नुभयो ।’ ती सीइओले दाहाललाई अझै अध्यक्षमै राखिरहे अवस्था थप बिग्रने भएकोले सबै बैंकरले नेतृत्व परिवर्तन गर्ने विषयमा पुनरविचार गर्नुपर्ने बताए । 

त्यसो त भूवन दाहालले बैंकर्स संघको अध्यक्ष बन्ने विषयमा समेत चिठ्ठा पारेका थिए । यसपटक अध्यक्ष बन्ने अवसर अनुकल भाटनगरलाई थियो । तर, विदेशी नागरिक तथा विदेशी लगानीको बैंकका सीइओ भएका कारण उनलाई अध्यक्ष दिंदा झन अप्ठ्यारो पर्ने विश्लेषण गरिएको थियो । सो क्रममा भूवन दाहालले मरिहत्ते गरेपछि उनलाई अध्यक्षको जिम्मेवारी दिन अरु तयार भएका थिए । 

मौद्रिक नीतिमा नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको सेवाशुल्कको विषयमा समेत माइक्रोम्यानेजमेन्ट गरेको बैंकरहरु गुनासो गर्छन् ।

केन्द्रीय बैंकले ‘बैंकहरुले त लुटेकै रहेछन् नि’ भन्ने टिप्पणी गर्नेहरुलाई अझ सहज पार्ने गरी सेवाशुल्क तोकेको र यसमा भूवन दाहालले लविङ गर्न नसकेको आरोप लगाएका छन् । ‘भूवन दाहालको बोलीका कारण राष्ट्रबैंकसँग सम्बन्ध बिग्रियो । यसैको परिणामस्वरुप बैंकहरुको आम्दानी घट्ने गरी यस्ता विषय मौद्रिक नीतिमा आयो ।’ अर्का एक बैंकरले भने–‘केन्द्रीय बैंकसँग राम्रो सम्बन्ध भएका यसअघिका अध्यक्षहरुले दिएको सुझाव राष्ट्रबैंकले अक्षरंशजस्तो कार्यान्वयन गर्ने गरेको थियो । तर, अहिले अवस्था त्यस्तो देखिएन । भूवन दाहालका कारण सबै बैंकका सीइओ र संचालक तनावमा बस्नुपर्ने अवस्था आएको छ ।’