काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबारदेखि लगातार ११ दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइनेछ। 

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइनेछ। काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप लगाइनेछ। यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ। 

त्यसैगरी काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइनेछ। बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। 

त्यसबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइनेछ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाण्डौ जिल्लामा भने आजबाट ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ। पहिलो मात्रा खोप लगाएका २ लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाण्डौमा भने दोस्रो मात्रा लगाइने भएको हो। 

काठमाण्डौ जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाइनेछ। 

मन्त्रालयका अनुसार कोभिशिल्ड र अस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएकाहरुले यो खोप लगाउनुहुँदैन।