काठमाण्डौ । सरकारले भोलिदेखि एकसाताका लागि भारत र चीनसँगका सबै सीमा बन्द गर्ने निर्णय गरेको छ । 

भर्खरै सकिएको मन्त्रीपरिषद बैठकले कोरोना भाइरसको संक्रमण हुने जोखिमलाई रोक्नका लागि भोलि(सोमबार)देखि एकसातासम्म भारत र चीनका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि सरकारले भारतसँगको सीमा नाकालाई केही सीमित गर्ने काम गरेको थियो । चारवटा सीमा भने खुल्लै राखिएको थियो । खुल्ला राखिएका सीमाबाट असुरक्षित रुपमा मानिसहरुको प्रवेश हुन थालेपछि यसको सर्वत्र विरोध भएको थियो । 

पछिल्लो समयसम्म भारतमा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भइसकेको छ । त्यहाँका राज्यहरुमा आगो झै संक्रमण फैलिइरहेको र विज्ञहरुले त्यहाँ कोरोना संक्रमणको सुनामी नै जानसक्ने चेतावनी दिन थालेपछि भारततर्फको नाका समेत पूर्ण बन्दको सरकारले निर्णय गरेको हो । 

सरकारले भोलिदेखि नै सबै अन्तराष्टिय उडान समेत बन्द गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।