काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले भोलि बिहीबारदेखि सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ।

राष्ट्रिय वाणिज्य बैंकले भोलि (असोज १ गते) देखि लागू हुने सार्वजनिक गरेको कर्जाहरुको ब्याजदरअनुसार सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशतमै उपलब्ध गराउने भएको हो। 

बैंकको आधार दर ५.८० प्रतिशत रहेको छ। बैंकले यो आधारमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर सेयर धितो कर्जा प्रवाह गर्नेछ। अर्थात अब ग्राहकले यो बैंकबाट सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशतदेखि ८.८० प्रतिशतसम्म ब्याजदरमा पाउनेछन्। 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले गाडी कर्जा पनि आधार दरमा १.५० प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म प्रिमियम जोडेर प्रवाह गर्ने भएको छ। ग्राहकले यो बैंकलेबाट अब गाडी कर्जा ७.३० प्रतिशतदेखि ९.०५ प्रतिशतसम्मको ब्याजदरमा पाउने छन्। 

विद्युतीय सवारीसाधन कर्जा भने बैंकले ७.३० प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ। 

यस्तै बैंकले घर कर्जा पनि आधार दर ५.८० मा १.५० प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम जोडेर ५ वर्षदेखि १५ वर्षसम्मको योजनामा उपलब्ध गराउने भएको छ। महालक्ष्मी घर कर्जा भने बैंकले १० वर्ष र १५ वर्षसम्मका दुई योजनामा आधार दरमा १.५० प्रतिशतदेखि २.५० प्रतिशत प्रिमियम जोडेर प्रवाह गर्नेछ। 

बैंकले शिक्षक र राष्ट्रसेवक कर्जा ८.५० प्रतिशतमा उपलब्ध गराउनेछ। व्यक्तिगत कर्जा न्यूनतम ७.८० प्रतिशतदेखि अधिकतम ९.०५ प्रतिशतसम्म उपलब्ध हुने बैंकले जनाएको छ।