काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोलिबाट प्रत्येक २० मिनेटमा एउटामात्र आन्तरिक उडान भर्ने गरी कोटा निर्धारण गरिएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा आन्तरिक उडान गर्ने सहमति भएको हो। सहमतिअनुसार निर्धारण गरिएको नयाँ कोटा प्रणालीबमोजिम बुद्ध एयरले दैनिक १८ वटामात्र आन्तरिक उडान भर्न पाउनेछ। 

त्यस्तै यति एयरलाइन्सले १० वटा र श्री एयरलाइन्सले ५ उडान भर्न पाउनेछन्। सौर्य एयरलाइन्सले भने २ र दुर्गम भेगका लागि एउटा उडान तोकिएको छ। 

यो हिसाबले त्रिभुवन विमानस्थलबाट अब दैनिक ३५ वटामात्रै आन्तरिक उडान हुनेछन्। नयाँ कोटा निर्धारणसँगै एयरलायन्सहरुले सोमबारका लागि निर्धारित केही उडानहरु रद्द गरेका छन्।