काठमाण्डौ । दोश्रो बजारमा अन्तिम बिक्री मूल्य १२७५ रुपैयाँ रहेको एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर बोलकबोलबाट सस्तोमै उठाउने अवसर भोलि(भदौ १५ गते)देखि खुल्दैछ ।

एनबी इन्स्योरेन्सले बिक्री नभएको सर्वसाधारण समूहतर्फको २८ हजार ५ सय ८० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

यो कम्पनीले असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । जसमध्ये सेयरधनीले खरीद गर्ने इच्छा नदेखाएका सेयरको लिलामीबाट बिक्रीका लागि आवेदन खुल्ला गरिएको हो । 

इच्छुक लगानीकर्ताले आगामी भदौ १५ देखि २२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी प्रक्रियामा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुकले बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडको काठमाण्डौको जमल नाचघरस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लिलामी प्रक्रियामा सहभागिताका लागि परेका बोलपत्रहरु भदौ २३ गते खोलिने बताइएको छ ।