काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भोलि बुधबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ। नेप्सेमा सूचीकरण भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कुनै पनि कम्पनीको सेयर धितोपत्र दोस्रो कारोबारमा आउने गर्छ। सोहीअनुसार सानिमा जनरल इन्स्योरेन्सको पनि सेयर कारोबारमा आउने भएको छ। 

नेप्सेले सानिमा जनरललाई ‘एसजीआई’ कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज प्रदान गरेको छ। 

अब भोलि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा कारोबार हुनेछ।

चुक्तापुँजी १ अर्ब पुर्याउन यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।