काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि वैशाख ६ गतेबाट साढे ५२ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्दैछ। 

कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद निष्कासन गर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। सेयरधनीहरुले काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको अरुण भ्याली हाइड्रोपावरको कम्पनी, काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु इटहरी, इलाम, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्। यसैगरी सीडीएससी एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने मुक्तिनाथ क्यापिटलले जनाएको छ।

यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  

हकप्रदका लागि अरुण भ्यालीले गत चैत ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्र अरुण भ्यालीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

अरुण भ्याली हाइड्रोपावरको हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत फागुन २५ गते निष्कासन अनुमति दिएको थियो।