काठमाण्डौ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले भोलि वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ।

कोषले आज अत्यन्त जरुरी सूचना जारी गर्दै  भोलि शुक्रबारदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको  हो। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाद्वारा जारी सूचनामा विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशबमोजिम २०७८ साल वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको उल्लेख छ। यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ। 

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण २०७६ चैत ११ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो। विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र सुरु भएको थियो।