काठमाण्डौ । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सतप्रतिशत हकप्रद सेयरमा भोलि साउन ५ गतेबाट आवेदन खुला हुने भएको छ। 

कम्पनीले आफ्ना सेयरधनीका लागि १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीका लागि जारी गर्नेछ। 

हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत जेठ २७ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्। 

यो हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते यो हकप्रदलाई निष्कासनको अनुमति दिएको थियो।