काठमाण्डौ । चलनचल्तीबाट हटाउन लागिएको चौथो संस्करणका कतारी रियाल बैंक नोट सटही गर्ने भोलि वैशाख २७ गते अन्तिम दिन रहेको छ। 

वैशाख २८ गतेबाट उक्त संस्करण कतारी रियाल सटही नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। यससँगै गत वैशाख १० गते नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गरी सटही गर्ने मौका दिएको हो। 

राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही वैशाख २७ गतेभित्र सटही गर्न सबैलाई आग्रह गरेको छ। त्यस्ता नोटहरु प्रचलित व्यवस्थाबमोजिम केन्द्रीय बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनियमको कारोबार गर्न केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेन्जहरुबाट सटही गर्न तथा गराउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।

वैशाख २७ गतेपछि त्यस्ता बैंक नोटहरु सटही गर्न केन्द्रीय बैंकलगायत इजाजतपत्र प्राप्त बैंक, वित्तीय संस्था र मनिचेन्जरहरु बाध्य नहुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ।