काठमाण्डौ। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको कार्यसमिति निर्वाचन तालिका सार्वजनिक भएको छ।

निर्वाचन कार्यक्रमअनुसार आज बिहीबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने र भोलि शुक्रबार मतदाता नामावलीउपर सच्याउने, दाबी–विरोधउपर अध्ययन तथा कारबाही गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यतालिकाअनुसार विजयी उम्मेदवारको घोषणा भोलि शुक्रबार बेलुकी ७ बजे हुनेछ।

एसोसिएसनका वर्तमान अध्यक्ष भरत रानाभाटले आज सर्वसम्मतबाट नयाँ कार्यसमितिमा अध्यक्षका लागि छलफल भइरहेको जानकारी दिएका छन्। यद्यपि आज दिनभर नयाँ कार्यसमितिका निम्ति दर्ता हुने र भोलिसम्म दाबी–विरोध सच्याउने कार्यक्रम रहेको उनले बताए। 

यदि अध्यक्ष पदका लागि एकभन्दा बढी दाबी आएको खण्डमा कोभिड–१९ संक्रमण र सरकारले लागू गरेको स्वास्थ्य प्रटोकलअनुसार चुनाव गर्न नसकिने विषयलाई मध्यनजर गर्दै चुनाव सर्न पनि सक्ने रानाभाटको भनाइ छ। 

अहिले एसोसिएसनको अध्यक्षमा स्टक ब्रोकर नम्बर ४८ का टंकप्रसाद गौतम र स्टक ब्रोकर नम्बर ३६ का सन्तोष मैनालीको नाम चर्चामा छ। एसोसिएसनको नवनियुक्त अध्यक्षसमक्ष ब्रोकर इन्डस्ट्रीको पेसागत सुरक्षाका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसन कटौती हुनेलगायत थप चुनौती खडा छन्।