काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ।

काठमाण्डौबाट सोमबार साँझ दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा प्राधिकरणले उनीहरुमाथि कारबाही गरेको हो। प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्क्रिय पार्ने निर्णय गरेको छ। यससँगै उनीहरुले विमानस्थलभित्र प्रवेश पाउने छैनन्।

फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए। तर, फ्लाई दुबईले भने ट्विट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने जनाएको थियो। 

प्राधिकरणले भौतिक रुपमा गरेको निरीक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ। 

प्राधिकरणका अनुसार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्ने विषयमा संयुक्त अरब इमिरेट्स (यूएई)को प्राधिकरणबाट जानकारी लिइनेछ।