-प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयरबजार सुधार र बिकासका बिषयमा करिब १५ बर्ष पहिलेदेखि नै खरो बहस हुँदै आएको छ। पछिल्ला केही वर्षहरुमा नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बहस तीव्र बनेको थियो । योसँगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सिङको प्रक्रिया अगाडि बढाएको थियो । 

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको पृष्ठभूमि भने निकै विवादास्पद रहेको छ । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल आएपछि उनले भारत भ्रमणको क्रममा नेपालका एक व्यापारिक प्रतिष्ठानसँग सेटिङ गरी यो कुरालाई नेपाल फर्किएपछि अगाडि बढाएका त्यसबेलै बिजशालाले खुलासा गरेको थियो । सो क्रममा राजनीतिक दलका केही नेताहरुलाई चुनाव खर्च समेत सो व्यापारिक प्रतिष्ठानले उपलब्ध गराएको थियो । सबै सेटिङ मिलाउँदा पनि मिडियाहरुको खबरदारी कम नभएपछि यो विषयमा केही सरोकारवालाले सर्वोच्च अदालतमा मुद्धा हालेका थिए । सर्वोच्चले अगाडि बढ्न खोजेको प्रक्रिया रोकिदिएको थियो । तर, केही सातापछि रोकिएको प्रक्रिया सुचारु गर्न भन्दै अर्को आदेश आयो । 

त्यसपछि तीव्र गतिमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने भन्दै हमाल तातेका थिए । भारत पुगेर भएको पुरानो सहमति ब्यूँताउने उद्देश्यले कर्मकाण्ड पूरा गर्ने शैलीमा नयाँ स्टकको लाइसेन्सका लागि आवेदन आह्वान गरिएको थियो । 

आवेदनका लागि हमाल र दलका नेताहरुले सेटिङ मिलाइसकेको समूहसहित ३ वटा समूहले आवेदन दिएको थियो । आवेदनको विषयमा अध्ययन गरी धमाधम काम अगाडि बढाई चाँडै लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि हमालको सेटिङ ढिलो गरी बुझेका बाँकी २ वटा समूह(जसले नयाँ स्टकका लागि आवेदन दिएका थिए)कै सदस्यले नीतिगत भ्रष्टाचार भएको पोल अर्थमन्त्रालय हुँदै प्रधानमन्त्रीसम्म नै पुर्याएका थिए । 

त्यसपछि यो विषयले संसदमा समेत प्रवेश पाएको थियो । आशा गरिएका अर्थविद स्वर्णिम वाग्लेदेखि अमरेशकुमार सिंहसम्मले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको भ्रष्टाचार भएको भन्दै यो तत्काल रोक्नुपर्ने माग गरेका थिए । सर्वत्र दवाब बढेपछि र पछिल्लो समय रमेश हमालले प्रचण्डलाई समेत बाइपास गरी सोझै शेरबहादुर देउवाको आडमा बाँकी कामलाई तीव्र गतिमा अगाडि बढाएपछि नयाँ घटनाक्रमहरु विकास भए । 

नयाँ लाइसेन्स प्रक्रियामा भएको नीतिगत भ्रष्टाचारको फेहरिस्त थाहा पाएका प्रधानमन्त्री प्रचण्ड र यो प्रक्रियामा आफूलाई बाइपास गरिएको ठानेका अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रयासबाट सरकारले नै प्रक्रिया रोक्ने निर्णय गरेको हो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको प्रक्रिया रोक्ने सरकारको निर्णयपछि यसको पक्ष र विपक्षमा तर्कहरु हुन थालेका छन् । 

सेयर बजारका कतिपय लगानीकर्ता नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकिएकोमा आक्रोशित देखिन्छन् भने कतिपय भने भ्रष्टाचारको विषय उठेपछि त्यसको छानबिन हुने कुरा स्वभाविक भएको बताउँछन् । 

बिजशालासँग कुरा गर्दै नेपाल ईन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसन्स वितरण प्रक्रिया रोकेर आम लगानीकर्ताको सुबिधा र खुशी खोसेको टिप्पणी गरे । 

‘अहिलेकै दलहरु सरकारमा भएको समयमा मन्त्रीपरिषदबाट पास भएको थियो। सेयरबजारविरोधी केही समूहले अदालतमा मुद्दा हालेर समयको बर्बाद भयो । तर पनि सर्वाेच्च अदालतबाट आम लगानीकर्ताको मागमा सुनुवाई भई धितोपत्र बोर्डबाट बाँकी प्रक्रिया अगाडि बढ्दै थियो । लाइसेन्स नपाउने समूहको कुरा सुनेर फेरी तिनै दलहरुको सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्नु दुःखद हो ।’–रौनियारले बिजशालासँग भने । 

उनले भ्रष्टाचार भएको हो भने त्यसको छानबिन गरी नयाँ स्टकको प्रक्रिया रोक्न नहुने जिकिर गरे । सेयर बजारको बिकास र प्रगतिमा फेरि एउटा तुषारापात भएको उनको दाबी छ । दुईवटा  स्टक एक्सचेञ्ज हुँदा प्रतिस्पर्धा भई आम लगानीकर्ताले थप सुबिधा पाउने र बजारको पनि बिकास हुने काममा अबरोध आउनुले आम लगानीकर्तालाई निराश बनाएको बताए। 

लगानीकर्ताकी नेता दुर्गा तिवारी नेपालको सेयर बजारका लगानीकर्ताका लागि एउटा नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको दाबी गर्दै हाल भइरहेको स्टक एक्सचेञ्जले आम लगानीकर्ताको माग पूरा गर्न नसकेको बताइन् । ‘यदि नेपाल स्टक एक्सचेञ्जले नै आम लगानीकर्ताले उठाएका मागहरु पूरा गर्नसक्ने भएमा नयाँ आवश्यक हुन्थेन ।’ उनले थपिन्–‘नयाँ स्टकको प्रक्रिया अगाडि बढेका बेला आर्थिक चलखेलको कुरा बाहिर आयो । सत्यतथ्य छानबिनका लागि सरकारले यो प्रक्रियालाई स्थगन मात्र गरेको मेरे बुझाई छ । प्रक्रिया नै रद्द भएको होइन, छानबिनका लागि केही समय लाग्ला । त्यसपछि बाँकी कुरा अगाडि बढ्छ भन्ने अपेक्षा छ ।’

उनको भनाईमा कुनै पनि कुरा आवश्यक छ भन्दैमा जसरी पनि ल्याउनैपर्छ भन्ने चाहिँ हुँदैन । अनियमितता भएको हो भने त्यसमा छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ । त्यसपछि हाल रोकिएको प्रक्रिया अगाडि बढाइनुपर्ने उनको भनाई छ ।