काठमाण्डौ । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनामा लागू हुने ब्याजदर आज कात्तिक ३० गते एक सूचना प्रकाशित गरी सार्वजनिक गरेका छन्। 

सार्वजनिक सूचनाअनुसार मंसिरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले घटाएका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को मंगलबार बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। सोही निर्णयबमोजिम अधिकांश वाणिज्य बैंकहरुले कात्तिक महिनाकै निक्षेप र कर्जाको ब्याजदरलाई मंसिरमा निरन्तरता दिएका छन्। 

गत असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए। असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। 

ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए। मंसिरमा पनि वाणिज्य बैंकहरुले ब्याजदर स्थिर नै राखेका छन्। 

अहिले अर्थतन्त्रका मुख्य सूचकहरु स्थिर नै रहेकोले पनि ब्याजदर फेरबदल गर्नुपर्ने अवस्था नदेखिएको एनबीएको बैठकमा ठहर गरिएको थियो। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बैंकहरुले जनाएका छन्। 

वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थिर राखे पनि विकास बैंकहरुले भने घटाएका छन्।

कात्तिकमा कायम अधिकतम ब्याजदरमा ०.१५ प्रतिशतले विकास बैंकहरुले मंसिरको ब्याजदर प्रकाशित गरेका छन्। 

राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा १३ प्रतिशत, संस्थागततर्फ ११ र रेमिट्यान्समा १४ प्रतिशत ब्याज दिँदै आएका छन्। मंसिरमा भने राष्ट्रिस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत दिने भएका छन्। 

यसैगरी मंसिरमा अधिकांश क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतममा १३.१० प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। 

कात्तिकमा क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा १३.२५ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। 

विकास बैंकहरुले मंसिरमा मुद्दति निक्षेपको ब्याजदर घटाएसँगै बचत खाताको ब्याजदर पनि घट्नेको छ। मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ५ प्रतिशतको फरक पारेर विकास बैंकहरुले बचत खाताको ब्याजदर कायम गरेका छन्। 

तरलता सहज हुँदै जानु र विकास बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशतको हाराहारीमा रहेकोले निक्षेपको ब्याजदर घटाउने निर्णय भएको विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले जानकारी दिए। 

उता मंसिरमा फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका छन्। फाइनान्स कम्पनीहरुले कात्तिकमा कायम मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाएका छन्।