काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँबराबरको ऋणपत्र यही माघ १८ गतेबाट निष्कासन गर्ने भएको छ।

कम्पनीले १ हजार अंकित दरका कुल ५ लाख इकाइ भएको ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गर्ने भएको हो। कम्पनीले कुल इकाइमध्ये ३ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २ लाख इकाइ (सोमध्ये ५ प्रतिशत अर्थात् १० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएकोसमेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गर्न लागेको हो।

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासनको अनुमति दिएको थियो।

कम्पनीको यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ऋणपत्रमा काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्यालय वा काठमाण्डौको नयाँबानेश्वरस्थित मञ्जुश्री फाइनान्सको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन बन्द छिटोमा माघ २१ गते र ढिलामा फागुन २ गते बैंकिङ समयपछि हुनेछ। 

यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ९.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।