काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले निष्कासन गरेको ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।

कम्पनीले गत माघ १८ गतेदेखि १ हजार अंकित दरका कुल ५ लाख इका भएको ‘९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गरेको छ। यो ऋणपत्रमा मागअनुसारको आवेदन नपरेका कारण आवेदन दिने म्याद थप गरिएको हो। अब यो ऋणपत्रमा फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले कुल इकाइमध्ये ३ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २ लाख इकाइ (सोमध्ये ५ प्रतिशत अर्थात् १० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएकोसमेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री खुला गरेको छ। कम्पनीको यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले ऋणपत्रमा काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्यालय वा काठमाण्डौको नयाँबानेश्वरस्थित मञ्जुश्री फाइनान्सको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासनको अनुमति दिएको थियो।