काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा ९४ प्रतिशत बढीको उछाल आएको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि १०४.४७ प्रतिशतले बढेर ५३ करोड ९० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २६ करोड ३६ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १.५८ प्रतिशतले घटेर २८ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी २९ करोड ११ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले समीक्षा अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीको रिजर्भको आकार ३०.४५ प्रतिशतले बढेर ३८ करोड २४ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २९ करोड ३१ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९६ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिमा खराब कर्जा ३.४३ प्रतिशतबाट घटाएर २.५७ प्रतिशतमा झार्न सफल भएको छ।  

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१.८२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.७२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६८.९३ रुपैयाँ रहेको छ।