काठमाण्डौ । भारतीय जनता पार्टी (भाजपा) को आन्ध्र प्रदेश अध्यक्ष सोमु वीरराजुले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० भारतीय रुपैयाँ कायम गर्ने वचन दिएका छन्। 

विजयवडामा मंगलबार आयोजित एक सभामा अध्यक्ष वीरराजुले राज्यमा उच्च मूल्यमा खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नरहेको पनि बताए। 

समाचार एजेन्सी एएनआईका अनुसार भाजपा अध्यक्ष वीरराजुले भनेका छन्, ‘भारजपालाई एक करोड भोट दिनुहोस्, हामी रक्सी मात्र ७० रुपैयाँमा उपलब्ध गराउने छौँ। यदि हामीले थप राजश्व प्राप्त गर्यौं भने रक्सीको मूल्य ५० बनाउने छौँ।’

वीरराजुले सरकारमाथि विषाक्त रक्सी बनाउने र बेच्ने गरेको आरोप पनि लगाए। ‘राज्य सरकारले तपाइँहरुको रगत चुसिरहेको छ’, उनले भने, ‘हरेक महिना १ व्यक्तिले १२ हजार रुपैयाँसम्म रक्सीमा खर्च गर्छ। सरकारले यो पैसा लिएर कल्याणकारी योजनाहरुको आडमा फिर्ता दिइरहेको छ।’ – एजेन्सी