काठमाण्डौ । आजको मतदान प्रक्रियामा मतदाताहरुमा चरम निराशा देखिएको छ । देशका विभिन्न ठाउँका मतदाताहरु आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने गरी ५ वर्षपछि आएको मतदानको अवसरलाई छाडेर निर्वाचनको विदाको अवसरमा विभिन्न ठाउँमा घुम्न निस्किएका छन् । 

घर तथा डेरामा भएका मतदाताहरुमा पनि मतदानप्रति कुनै उत्साह छैन । देशभरका विभिन्न मतदान केन्द्रमध्ये अधिकांशमा आजै बिहानैदेखि न्यून मतदाताको मात्र उपस्थिति देखिएको छ । 

विभिन्न क्षेत्रका अगुवाहरुले पनि मतदानमा मतदाताहरुको सहभागिता अत्यन्त न्यून रहेको भन्दै निराशा व्यक्त गरिरहेका छन् । 

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर ९ स्थित गान्धी आदर्श मावि मतदान केन्द्रमा समेत आज बिहानैदेखि मतदाताहरुको न्यून मात्र उपस्थिति देखिएको छ । मतदान केन्द्र आसपास भेटिएका स्थानीय र मतदान सहजीकरणका लागि खटिएका स्वयम्सेवकहरुले पनि यसपटक सहभागिता ज्यादै न्यून भएको भन्दै चिन्ता प्रकट गरिरहेका थिए । ‘यसपटक पहिलाजस्तो मतदाताहरु मत खसाल्न आएकै छैनन् । न्यून मात्र सहभागिता देखिएको छ । पहिला लामो लाइन हुन्थ्यो, अहिले त आउनेले सोझै गएर मतदान गर्न पाएका छन् ।’ स्वयम्सेवकको रुपमा खटिएकी काँडाघारी क्षेत्रकी गीता तिमिल्सिनाले भनिन्–‘जनताको यो आवाज राजनीतिक दल र नेताहरुले बेलैमा बुझेन्न भने अर्को पटकको मतदानहरुमा यसपटकको जति पनि मत नखस्ने देखिन्छ । भोट हालेर के हुन्छ र ? भन्ने आम मानसिकता मतदातामा देखिएको छ ।’ 

देशका अन्य क्षेत्रको अवस्था पनि उस्तै छ । अर्थशास्त्री स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै लेखेका छन्–‘विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएकोमा यसपटक जनतामा निकै कम उत्साह देखियो। वितृष्णा छ । सोझो गठजोड भन्दा फरक नतिजा आउने आँकलन । राजनीति सुधार्न बाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि?’’

उनको स्टाटसमा कमेन्ट गर्ने कतिपयले पनि मतदाताको न्यून सहभागिता भएको कुरा स्वीकार गर्दै आफ्नो मत राखेका छन् ।

 

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले वाग्लेको पोस्टमा कमेन्ट गर्दै लेखेका छन्–‘तीन दिनको विदा पाएर सम्भ्रान्त र निराशित वर्ग घुम्न निस्केको बुझिन्छ। यो आफैंमा एउटा निराशा जनक संकेत हो।’

देशको सुदुरपूर्वमा पनि मतदाताको सहभागिता ज्यादै न्यून देखिएको छ । प्रदेश १ को प्रमुख व्यापारिक केन्द्र इटहरीका साहित्यकार मनु मञ्जिलको फेसबुक पोस्टले पनि त्यहाँको अवस्था संकेत गर्छ । उनले मतदानमा सहभागी भएपछि फेसबुकमा लेखेका छन्–‘करिब ७ः३० तिर म भोट खसाल्न जाँदा मेरो लाइनमा म एक्लो थिएँ। अरूमा ३–४ जना । अहिले १०ः३० मा पनि लगभग कुरो उस्तै। इटहरीमा त हजारौंको लाइनमा उभिएर पो भोट हालिन्थ्यो। तर आज त भोटिङ सेन्टर नचल्ने चिया–पसल जस्तो पो रैछ। हन के भ’को?’

उनको स्टाटसमा कमेन्ट गर्ने अधिकांशले आफ्नो नजिकका निर्वाचन केन्द्रहरुको हालत समेत उस्तै रहेको भनेका छन् । यसले समेत देशैभरका मतदान केन्द्रहरुमा योपटक अत्यन्त कम मत खसिरहेको देखिन्छ । 

चौतर्फी निराशा देखिएपछि काठमाण्डौका अधिवक्ता अमृत खरेलले अनुमान गर्दै फेसबुकमा लेखेका छन्–‘४० प्रतिशत पनि भोट खस्ला जस्तो लाग्या छैन आज।’

यी त प्रतिनिधि पात्रहरु मात्र भए । सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका अगुवाहरुले मतदानमा सहभागिता हालसम्मकै न्यून देखिएको भनिरहेका छन् । निर्वाचन आयोगका अधिकारीहरु पनि यसपटक मतदानमा उत्साहपूर्ण सहभागिता नभएको बताउँछन् । आयोगका एक सदस्यले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने–‘हामीले पनि ५० प्रतिशत हाराहारीमा मात्रै मत खस्ने आँकलन गरेका छौं । दल तथा नेताहरुप्रतिको चरम निराशा यसपटकको मतदान प्रक्रियामा प्रस्फूटित भएको छ । अवस्था यस्तै रहे अर्कोपटकदेखि मतदान केन्द्रहरु मतदानको दिन सूनसान हुने सम्भावना देख्छु ।’