काठमाण्डौ । विज्ञापन बोर्डको पछिल्लो निर्णयको सरोकारवालाहरुले विरोध जनाएका छन्। 

विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण एवं प्रचारप्रसार गर्न नपाइने निर्णय गर्दै विज्ञप्ति जारी गरेको थियो। विज्ञापन बोर्डको उक्त निर्णयविरुद्ध नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटबल संघले संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। विज्ञप्तिमा मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशमा खुला रहेको भन्दै बोर्ड नीतिको विरोध जनाइएको छ। 

‘मदिरालाई खाद्यवस्तुकै रुपमा लिने गरिन्छ। हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ। तर यसको विज्ञापन प्रसारण र प्रकाशनलाई रोक्न खोज्नु असम्भव छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विश्वभरबाट मदिरा आयात हुने गर्छ। यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाए पनि विदेशी मिडिया वा सामजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली उपभोक्तामाझ प्रवर्द्धन गर्ने विकल्पमात्रै हुन्छ।’

कानुनअनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनै पनि स्थान र माध्यमबाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्रान्डले विदेशी सञ्चार वा एजेन्सीले निरन्तर आफ्नो ब्रान्ड प्रवर्द्धन गर्ने स्थिति आउन सक्नेतर्फ सचेत हुन विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यसले स्वदेशी लगानी र ब्रान्डमा समेत असर पर्नुका साथै बेरोजगारी सिर्जना भएर व्यवसाय नै धरासायी हुन सक्नेतर्फ संवेदनशील बन्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ। 

विज्ञापन रोक्दैमा वस्तुको उपभोग कम नहुने भन्दै उनीहरुले सभ्य किसिमका र मदिरा उपभोगप्रति उक्साहट नगर्ने प्रकारका विज्ञापनले उपभोक्तालाई चाहनाअनुसारको वस्तु छनोट गर्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ। ‘नेपाली उद्योग र उत्पादनहरुको नियमन गर्ने विधि तय नगरी विज्ञापन गर्न रोक्ने एकतर्फी निर्णयले विज्ञापन व्यवसायमा पनि प्रतिकूल प्रभाव पर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले नेपालका विज्ञापन एजेन्सी, मिडिया र यस क्षेत्रका उत्पादन उद्योगमा समेत समस्या पार्नेछ।’ 

निजी क्षेत्रलाई प्रतिकूल असर पुग्ने विज्ञापन बोर्डको उक्त निर्णय अबिलम्ब फिर्ता गर्न विज्ञप्तिमा माग गरिएको छ।