काठमाण्डौ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको वित्तीय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत मधेश प्रदेशमा कृषि विकास बैंक लिमिटेडले कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला (भिटा) कार्यक्रम सुरु गरेको छ। 

कृषि विकास बैंका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी महोत्तरीको बर्दिबासमा एक कार्यक्रमबीच यो कार्यक्रमको विधिवत रुपमा सुरुआत गरिएको हो। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेखबहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंह, कोषका परामर्शदाता तथा कन्सल्टेन्ट श्यामबहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो। कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका सञ्चालक राजेन्द्र मिश्र विद्युतीय माध्यम (जुम) मार्फत जोडिएका थिए। 

कार्यक्रममा कृषि विकास बैंक जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागीलाई स्वागत गर्दै यस कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको विस्तृत रुपमा जानकारी दिँदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धि, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका सम्भागहरु र मूल्य शृंखला विकासका लागि लिक्षित कृषि वस्तुहरु तथा कार्यक्रम सञ्चालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताएका थिए। 

सहभागीको जिज्ञासा सम्बोधन गर्ने क्रममा कोषका परार्मशदाता श्यामबहादुर खड्काले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धी बनाउँदै व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको जानकारी गराएका थिए। 

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंक लि का सञ्चालक राजेन्द्र मिश्रले किसानमा सहुलियत दरमा वित्तीय पहुँच पुर्याउन यस कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए। उनले भिटा कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व बृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन हुने गरी मूल्य शृंखलाको अवधारणामा लगानी गरिने उल्लेख गर्दै मन्त्रालयका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले मधेश प्रदेशका कृषिको सम्भावना प्रशस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाका रुपमा सही तरिकाले आपूर्तिकर्ता, कृषक, प्रशोधनकर्तालाई बजार मागका अधारमा मूल्य शृंखलामा आबद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।