काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ४.५६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्। 

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.५६ गुणाले बढी हो। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिएका थिए। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख ५ गते निष्कासन अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटलले रहेको छ। 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। 

मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।