काठमाण्डौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ९ वर्षमा ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ। 

चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै १ वर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए। ६ वर्षअघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड संक्रमणका कारण काम पछि धकेलिँदै गएको छ। हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनुपरेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको भुर्तेलको भनाइ थियो। 

आयोजनामा कार्यरत धेरै कामदार कोरोना संक्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ। त्यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन्। 

कुल ७२४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ। विद्युत गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशतमात्र सकिएको छ। 

काठमाण्डौ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिंगल सर्किट प्रसारण लाइनको सबस्टेसन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म ४ किलोमिटर प्रशारण लाइनको प्रक्रिया सुरु भएको छ। यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये ८ वटा वनक्षेत्रमा रहने  हुँदा वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियामा छ। त्यस्तै ५ वटा टावर व्यक्तिको जमिनमा परेकाले मुआवजाको प्रक्रिया सुरु गरिएको छ। 

स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्युरो र भारतीय आस्ट्रिया एन्डिज हाइड्रोले काम गरिरहेको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले हालै पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयका लागि चुक्तापुँजी ६ अर्बको १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ बिक्री गरेको छ। 

दोस्रो चरणमा भने चुक्तापुजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरिरहेको छ। कुल ९० लाख कित्तामा ४ प्रतिशतले हुन आउने ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि ५ प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।