काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता आईपीओ असोज २० गतेबाट निष्कासन गर्ने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज पहिलो चरणको आईपीओ बाँडफाँड गर्ने क्रममा दोस्रो चरणको आईपीओ असोज २० गतेबाट निष्कासन गरिने जानकारी गराइएको हो। दोस्रो चरणको आईपीओमा असोज २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो।

स्थानीयको आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएका थिए। तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन दिएका थिए। आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै सेयर पाएका छन्। १९० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट थप २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्। यो हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म सेयर पाएका छन्।

यसैगरी आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३८० जना आवेदकले आवेदन दिएका थिए। तीमध्ये १ हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई सेयर बाँडफाँड गरिएको छ। यसअन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले मागबमोजिम सेयर पाएका छन्। ५० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ता सेयर पाएका छन्।