काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको दोस्रो चरणको आईपीओ निष्कासनको तेस्रो दिन शुक्रबारसम्म २.८८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत (आसोज २० गते) बाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। 

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गर्न सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा शुक्रबार साढे ३ बजेसम्म १५ लाख ६२ हजार १८० आवेदकबाट २ करोड ३५ लाख ९२ हजार २९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.८८ गुणाले बढी हो। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन पेस गर्न सक्नेछन्। आईपीओको निष्कासन बन्द असोज २५ गते हुनेछ। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख ५ गते निष्कासन अनुमति दिएको थियो। 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। 

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।