काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ। उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन्। 

मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको सरोकारवालाहरुको भनाइ छ। 

हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पूजा, ध्यान तथा प्रार्थनामात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वास्थ्य मापदण्ड तोकेर चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाइ रहेको छ।

मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रशासन कार्यालय गोरखाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाँझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो’, श्रेष्ठले भने। 

श्रेष्ठले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहनेमा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरे।