काठमाण्डौ । मनकामना केबुलकार मर्मतसम्भारपश्चात् एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। 

केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मका लागि बन्द गरिने भनिएको थियो। मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समय भन्दा १ दिनअगावै सम्पन्न भएकोले केबलकार चैत ३० गते सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो।

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए। ६ दिन बन्द गरिएको केबलकार ५ दिनमै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालकमध्येका एक राजेशबावु श्रेष्ठले बताए।

२०५५ साल मंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ। पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो।

सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोस्रो चरणमा नयाँ प्रविधिकोलागी पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो। जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ। यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ।

अबको २ वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।