काठमाण्डौ । विश्वमा आर्थिक मन्दीको जोखिम बढ्दै गएको छ। मुद्रास्फीतिले दोहोरो मारमा परेको छ। यसको असर अमेरिकादेखि चीनसम्म देखिएको छ। 

यी सबैको बीचमा विश्वभरका ठूला कम्पनीहरुमा धमाधम कर्मचारी कटौती गर्ने काम भइरहेको छ। अमेजन, वालमार्ट र फोर्डपछि अब चीनको ठूलो कम्पनीले एकैसाथ १० हजार कर्मचारीलाई निकालेको छ।

मिडिया रिपोर्टका अनुसार चिनियाँ टेक कम्पनी अलिबाबाले आफ्ना ९ हजार २४१ भन्दा बढी कर्मचारीलाई जागिरबाट निकालेको छ। ती कर्मचारी हटाइएपछि अलिबाबामा कुल कर्मचारीको संख्या घटेर २ लाख ४५ हजार ७०० मा झरेको छ। 

यसअघि हालै रिटेल क्षेत्रको दिग्गज कम्पनी वालमार्टले पनि आफ्ना २०० कर्मचारीलाई एकैपटक जागिर निकालेको थियो। कम्पनीले बढ्दो लागत र कमजोर मागलाई औँल्याएको थियो।

चीन विश्वको सबैभन्दा ठूलो ई–कमर्स बजार हो र अलिबाबा यस क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी हो। बिहीबार बिजनेस टुडेमा प्रकाशित रोयटर्सको रिपोर्ट अनुसार अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले कुनै पनि त्रैमासिकमा पहिलोपटक सामान्य आम्दानी वृद्धि देखेको छ।
जुन २०२२ को अन्त्यमा कम्पनीको आम्दानी २०५.५६ अर्ब युआन अर्थात ३०.४३ अर्ब डलर थियो। 

भर्खरै भएको कर्मचारी कटौतीको सन्दर्भमा मिडिया रिपोर्टहरुअनुसार कम्पनीले आफ्नो खर्च कटौती र दक्षता बढाउनमा ध्यान केन्द्रित गरिरहेको छ।

मन्दीको बीचमा ज्याक माको कम्पनी अलिबाबाका सीईओ डेनियल झाङले पनि लागत घटाउने कुरा गरे। झाङले भनेका थिए कि कोरोनाका केसहरु फेरि बढ्दै जाँदा भूराजनीतिक अवस्थाले कम्पनीलाई असर गर्न सक्छ। ‘यस समयमा हामीले गर्न सक्ने एउटै कुरा छ र त्यो हो आफूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्ने’, झाङले भनेका थिए। 

रिपोर्टका अनुसार चीनका अन्य प्राविधिक कम्पनीमा पनि ठूला स्तरमा कर्मचारीलाई हटाउने प्रक्रिया सुरु भएको छ।

यसअघि अमेजनले पनि १ लाख कर्मचारी कटौती गरेको थियो। योसँगै वालमार्टपछि अन्य धेरै ठूला कम्पनीले पनि यस्तो कदम चाल्ने तयारी गरिरहेका छन्। यदि रिपोर्टहरू विश्वास गर्ने हो भने फोर्ड मोटरले आर्थिक गतिविधिमा मन्दीको बीचमा लगभग ८ हजार कर्मचारी हटाउने योजना बनाएको छ। फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स इंकले पनि भर्तीमा ३० प्रतिशत कटौती गर्ने योजना बनाएको छ। यसबाहेक गुगलले नयाँ कर्मचारी भर्ना सुस्त गरेको छ।

क्रन्चबेसको रिपोर्टले सिलिकन भ्यालीका धेरै अन्य प्राविधिक कम्पनीहरुले पनि पछिल्लो महिनामा भारी कटौती गरेको बताएको छ। यी कम्पनीहरुले करिब ३२ हजार कर्मचारीलाई निकालेका छन्। यसमा ट्विटर, टिकटक, सपिफाइ, नेटफ्लेक्सजस्ता कम्पनी सामेल छन्। –एजेन्सी