काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर)को अनुमतिका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरेको छ । 

शुक्रबार एक सूचना प्रकाशित गर्दै बोर्डले विद्यमान बजारमा बैंक तथा बित्तीय संस्था तथा बिमा कम्पनीहरुको बाहुल्यता रहेको र त्यस्ता संस्थाहरु थप स्थापनाका लागि अनुमति दिने काम पनि बन्द भएको तथा पूँजी सम्बन्धी व्यवस्था, पूर्वाधारको अवस्था, व्यवसायिक क्षेत्रको बिस्तार लगायतको उद्देश्यले वर्तमान मर्चेन्ट बैकिङ नियमावली संसोधनको प्रक्रिया अगाडि बढेको भन्दै तत्कालका लागि नयाँ मर्चेन्ट बैंकरहरुको आवेदन लिने काम स्थगित गरिएको प्रष्ट्याएको हो । 

हाल बोर्डबाट १९ वटा संगठित संस्थाहरुले मर्चेन्ट बैंकरको अनुमतिपत्र प्राप्त गरेका छन् भने थप १० संस्थाहरुले अनुमतिपत्रका लागि दिएको निवेदन बोर्डको प्रक्रियामा छ ।

‘मर्चेन्ट बैंकरहरुको भूमिका तथा सेवालाई अझ बढी बिस्तार तथा प्रभावकारी बनाउने बिषयमा अध्ययन गरी मर्चेन्ट वैकिङ्ग व्यवसायको दायरा बढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने जस्ता उद्देश्यले मर्चेन्ट बैकिङ्ग सम्वन्धी नियमावली संशोधन प्रक्रिया अगाडि बढाइएको छ ।’ बोर्डले भनेको छ–‘यही परिस्थितिलाई मध्यनजर गर्दै हाल बोर्डको प्रक्रियामा प्रवेश भइसकेका आवेदनहरुलाई विद्यमान नियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको लागि कार्य अगाडि बढाउने र नयाँ आवेदन दर्ता गर्ने सम्वन्धमा मर्चेन्ट वैकिङ्ग सम्बन्धी नियमावली संशोधन नभईञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’