काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप (एएमएल/सीएफटी)सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। 

नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ को दफा (१५) को उपदफा (७) को अधिनमा रही संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा गत माघ १३ गते काठमाण्डौस्थित होटेल एलफ्टमा संघले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकिङ संस्थाबाट ७६ जना सदस्यको सहभागिता थियो। 

यसका साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनका लागि स्रोत व्यक्तिका रुपमा नेपाल राष्ट्र बैंकका तर्फबाट वित्तीय जानकारी इकाइका विभागीय प्रमुख तथा निर्देशक दीर्घबहादुर रावल र नेपाल धितोपत्र बोर्डका तर्फबाट कानुनी प्रवर्तन इकाइ र एएमएल विभागका कामु निर्देशक राजाराम दुवालको उपस्थिति थियो।

नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले धन्यवाद ज्ञापन गर्नुका साथै स्रोतव्यक्तिका रुपमा उपस्थित अतिथिहरुलाई प्रशंसाको चिनो/प्रतीक प्रदान गरी कार्यक्रमको अन्त्य गरेका थिए।