– रेखा चन्द

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकमध्ये हाल दोस्रो बजारमा ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का रहेको छ। 

नेप्सेले मर्जर र प्राप्ति जाने सम्झौता गरेका ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, मेगा बैंक र सेञ्चुुरी कर्मसियल बैंकको सेयर कारोबार रोक्का भएको छ। सेञ्चुरी बैंकलाई प्रभुले हिजो आइतबार प्राप्ति गर्ने सम्झौता गरेको छ। यो सम्झौतासँगै आजबाट सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरिएको छ।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते शुक्रबार मर्जर सम्झौता भएको थियो। नेप्सेले यी दुवै बैंकको सेयर कारोबार जेठ २९ गते आइतबारदेखि रोक्का गरेको छ। 

त्यसैगरी ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले असार २ गते बिहीबार बिहान मर्जरमा जाने सम्झौता गरेका थिए। ती दुुवै बैंकको सोही दिनदेखि सेयर कारोबार गरिएको छ। नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने गरी समान हैसियतमा मर्जरमा जाने सम्झौता भएको हो। 

हिमालयन बैंकले सिभिल बैंकलाई गत असार २९ गते प्राप्ति गर्ने सम्झौता गरेको थियो। योसँगे नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरेको छ। हिमालयनले सिभिललाई १००ः८१ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने सम्झौता भएको छ। 

कुन बैंकको कति रकमको सेयर रोक्का छ ?

नेपाल इन्भेष्टमेन्ट बैंकको कुल १८ करोड ३० लाख ७५ हजार ४१४ कित्ता सूचीकृत भएकोमा त्यसको कुल बजार पुँजीकरण ४८ अर्ब ५१ करोड ४९ लाख ८४ हजार ७१० रुपैयाँबराबरको छ। बैंक अफ काठमाण्डूको १० करोड ६२ लाख ३९ हजार ९४१ कित्ता सूचीकरण भएकोमा कुल बजार पुँजीकरण २४ अर्ब १२ करोड ७० लाख ९० हजार ६०१ रुपैयाँ रहेको छ। 

यस्तै ग्लोबल आइएमई बैंकको २३ करोड ७९ लाख ५७ हजार ५३५ कित्ता नेप्सेमा सूचीकृत रहेको छ। यसको कुल बजार पुँजीकरण ५९ अर्ब ८२ करोड २५ लाख २४ हजार २९९ रुपैयाँ छ। 

त्यसैगरी सिभिल बैंकको ९ करोड ७ लाख ५८ हजार ४४२ कित्ता सूचीकृत रहेकोमा कुल बजार पुँजीकरण १९ अर्ब ३३ करोड १५ लाख ४८ हजार १४६ रुपैयाँ छ। १६ करोड १२ लाख ४ हजार ६१५ कित्ता सूचीकृत रहेको मेगा बैंकको कुल बजार पुँजीकरण ३६ अर्ब ४३ करोड २२ लाख ४२ हजार ९९० रुपैयाँ छ।

आजदेखि सेयर रोक्का भएको सेञ्चुरी बैंकको कुल ९५ करोड ५३ लाख ९ हजार ९३ कित्ता सेयर सूचीकृत भएको छ । जसको बजार पुँजीकरण १८ अर्ब ४३ करोड ९० लाख ९४ हजार ७५६ रुपैयाँ रहेको छ। 

हाल ६ वटा वाणिज्य बैंकको मात्रै २ खर्ब ६ अर्ब ६६ करोड बढीको सेयर रोक्का रहेको छ।

यी बैंकको कारोबार रोक्का भएको धेरै समय बितेको छैन। तर, विगतमा लामो समय कारोबार रोक्का हुँदा लगानीकर्ताको पुँजी बन्धक हुने समस्या आउनुुका साथै कम्पनीहरुले सेयरमूल्यमा कार्टेलिङ गर्नेजस्ता समस्या थिए। सोही विषयको मनन गर्दै र सरोकारवालाले लामो समय सेयर कारोबार रोक्का गर्न नहुने सुुभाव दिएकोमा राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको छ। 

यता सेबोनले पनि गत बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने विषयमा आवश्यक कार्यविधि बनाएर १० दिनभित्र सार्वजनिक गर्ने जनाएको थियो। सोहीअनुुसार अहिले सेबोन कार्यविधि बनाउनमा व्यस्त छ। 
सेबोनले सकेसम्म छोटो समयका लागिमात्रै मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने व्यवस्था गर्ने तयारी गरिरहेको बुुझिएको छ।

उता सरोकारवालाहरुले पनि छोटो समयका लागिमात्रै सेयर कारोबार रोक्नुपर्ने बताउँदै आएका छन्। बढीमा ३ महिना नकट्ने गरी र अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि संयुुक्त कारोबार नहुँदासम्म मात्रै सेयर कारोबार रोक्का हुुनुुपर्ने सरोकारवालाको भनाइ छ।