काठमाण्डौ । चारवटा राष्टिय स्तरको विकास बैंकको मर्जरपछि दोश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको एनसीसी बैंक कमजोर देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २४ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा ७ करोड ७६ लाख मात्र खूद नाफा आर्जन गरेको हो । 

तर व्यवसाय बिस्तार भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि १ सय भन्दा बढी प्रतिशतले प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ५० करोड ५३ लाख रुपैयाँ रहेको एनसीसी बैंकको खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष १ अर्ब ३ करोडको उचाईमा पुुगेको छ । 

यो बैंकले संभावित जोखिम व्यवस्थापनमा ६५ करोड ३७ लाख रुपैयाँ राख्नुपरेकोले समेत खूद नाफातर्फ ठूलो कमी देखिएको हो । 

खराब अवस्थाका विकास बैंकलाई गाभेका कारण एनसीसी बैंकको निस्क्रिय कर्जा अनुपात १.३० प्रतिशतबाट वृद्धि भई ४.८४ प्रतिशत पुुगेको छ । तर केन्द्रीय बैंकको सीमा भन्दा निस्क्रिय कर्जा अनुपात कम नै रहेको छ । 

यो अवधिमा बैंकले ५५ अर्ब ४६ करोड निक्षेप संकलन गरी ४८ अर्ब ४२ करोड कर्जा परिचालन गरेको छ । बैंकको सीसीडी रेसियो ७८.६८ प्रतिशत रहेको छ । 

मर्जरपछि एनसीसी बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड पुुगेको छ भने जगेडा कोषमा २ अर्ब ३० करोड जम्मा भएको छ । यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा मात्र भएको छ भने प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ २४ पैसा रहेको छ । 

एनसीसी बैंकसँग हालै एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको मर्जर सम्पन्न भएको थियो ।