काठमाण्डौ । मर्जर र प्राप्ति प्रक्रिया पूरा गरेपछि दुई बैंक र एक लघुवित्तको नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ। 

जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । त्यस्तै वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्त गरेर देवः विकास बैंकले आजैबाट एकीकृत कारोबार थालनी गर्नेछ। 

त्यसैगरी साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिएपछि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा सोमबारबाटै एकीकृत कारोबार हुँदैछ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई १००:३३ कित्ता अनुपातमा गाभेको हो। यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्ट बैंकमा संस्था गाभिएपछि बैंकको बढीमा ३३ कित्ता सेयर पाउनेछन्।

डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियोअनुसार जेबिल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ। नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। 

प्राप्तिअघि जेबिल्स फाइनान्सको हाल चुक्तापूँजी ८० करोड बढी रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्ब ५८ करोड रहेको थियो । प्राप्तिपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी १३ अर्ब ३८ करोड माथि पुगेको छ । 

त्यस्तै देवः विकास बैंकले वेस्टर्नलाई १:१ अनुपातमा प्राप्ति गरेको हो। एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुग्नेछ।

यसैगरी नेपाल राष्ट्र बैंकले गत असार २५ गते साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त प्राप्ति (एक्विजिसन) को अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिस्टरको कार्यालयले पनि गत असार २७ गते अन्तिम स्वीकृति दिएपछि दुवै कम्पनीले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा सोमबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 

यो लघुवित्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको मान्यता पाएको छ । प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात साधना लघुवित्तले १००ः८० को अनुपातमा आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरेको हो । यसको मतलब साधना लघुवित्तमा गाभिएपछि आर्थिक समृद्धि लघुवित्तका सेयरधनीहरुले १०० कित्ताबराबर ८० कित्तामात्र सेयर पाउने छन् । 

प्राप्ति प्रक्रियापछि बनेको नयाँ कम्पनीले चुक्तापुँजी सतप्रतिशत हकप्रद सेयर निकाल्ने निर्णय यसअघिको विशेष साधारणसभाबाट भइसकेको छ । सतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १४.७० करोड पुग्नेछ ।