काठमाण्डौ । जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना कार फिर्ता मगाउने भएको छ। 

कारको ब्रेक सिस्टमा सम्भावित समस्या देखिएको भन्दै कम्पनीले कार फिर्ता बोलाउने निर्णय गरेको हो। 

कम्पनीले सन् २००४ देखि २०१५ को बीचमा उत्पादन भएका एमएल, जीएल (बीआर १६४) र आर–क्लास (बीआर २५१) मोडलका कारहरुको ब्रेकिङ सिस्टमा समस्या देखिएको जनाएको छ। कम्पनीले फिर्ता बोलाउने घोषणा गरेकोमध्ये करिब ७० हजार कार जर्मनीकै हुन्। 

‘यी सवारीमध्ये केहिको ब्रेक बुस्टर प्रणाली प्रभावित भएको हामीले पाएका छौँ’, मर्सिडिज बेन्जले उल्लेख गरेको छ। यसका कारण कारको गति कम गर्न वा कारलाई रोक्न आवश्यक पेडल ब्रेक बलमा वृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले विश्वभरबाट ९ लाख ९३ हजार ४०७ कार फिर्ता मगाउने र यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरिने जनाएको छ। –एजेन्सी