काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा खुद नाफा ३५८.७० प्रतिशतले बढाउन सफल भएको छ ।

पहिलो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २१ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालक मुनाफा १० लाख ९६ हजार रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ९ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी संस्थाले पहिलो त्रैमासमा १८ लाख २७ हजार रुपैयाँमा खुद ब्याज आम्दानी सीमित भएको छ । गत वर्ष यही अवधिमा संस्थाले ३८ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा २५ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २१ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी २१ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको रिजर्भ १८.२८ प्रतिशतले बढाउन सफल भएको छ । गत वर्ष २ करोड ६० लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ३ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्ता पुँजी ४ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९.११ रुपैयाँ रहेको छ । पीई रेसियो ४३.४९ गुना रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.३६ रुपैयाँ रहेको छ ।