काठमाण्डौ । चाचान ग्रुपका उद्योगपति मोहनलाल अग्रवाल (चाचान) सहित पाँचजना कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।

अग्रवाल वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिकाुको चैनपुरस्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका सञ्चालक हुन्। अग्रवालसहित उद्योगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्।

लकडाउनको मौका छोपेर मसुरोको दाल बढी मूल्यमा बिक्री गरेको आरोप अग्रवालमाथि लागेको छ। सोही आरोपमा श्रीकृष्ण दाल उद्योगका पवनकुमार साह र सुरेश प्रसाद तथा महावीर ओभरसिज प्रालिका सन्तोष झा पनि पक्राउ परेका छन्।

लकडाउनअघि प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा बिक्री गरिएको दाल लकडाउनपछि ९४ देखि ९८ रुपैयाँमा बिक्री गरिएको पाइएकोले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।

पक्राउ परेकाहरुमाथि कालोबजारी ऐन २०३२ बमोजिम मुद्दा चलाइएको प्रहरीले जनाएको छ।